काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरु प्रचार प्रसारमा व्यस्त छन् । आइतबार मनोनयन दर्ता भएसँगै दलहरु आ-आफ्ना उम्मेदवार जिताउन चुनावी प्रचारमा लागेका हुन् । उपनिर्वाचन हुने ४४ स्थानमध्ये २ जिल्ला समन्वय समिति र एक वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् भने ४१ स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
४१ पदमा हुने उपनिर्वाचनका लागि ३७० जनाभन्दा धेरै मैदानमा छन् । उपनिर्वाचन हुने मोरङको ग्रामथानमा भने रोचक संयोग देखिएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । जसका लागि १६ जना मैदानमा छन् । अध्यक्षका लागि राप्रपाका तर्फबाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार चौधरी विश्वास, नेकपा एमालेबाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् ।
ग्रामथान गाउँपालिकाका अध्यक्ष रहेका जयप्रसाद गच्छदार नेपाली कांग्रेस निर्वाचित भएका थिए । ०८० माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनको दिन बेहोस भएर ढलेका उनको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो । ०७९ को निर्वाचनमा निवर्तमान पालिका अध्यक्षलाई पराजित गरेका थिए । गच्छाद्धारले ७६०५ मत ल्याउँदा पराजित भएका एमालेका शिवनारायण माझी थारु ६०९३ मतमा रोकिएका थिए । ग्रामथानमा पनि कांग्रेसलाई माओवादी लगायतको समर्थन थियो भने एमाले एक्लै लडेको थियो ।
उपनिर्वाचनका लागि १६ जना मैदानमा भएपनि मुख्यगरि एमालेका विश्वास, कांग्रेसका सरदार र माओवादीका माझीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उपाध्यक्षसहित बुहमत वडामा निर्वाचित एमाले आफ्नो पूरानो साथ फर्काउने योजनामा छ भने एमालेबाट खोसेको स्थानीय तह नगुमाउने योजनामा कांग्रेस छ ।
अध्यक्षमा भिड्ने तीनै जना कांग्रेस पृष्ठभूमिका
त्यसोत, ग्रामथानको अध्यक्षमा भिड्न लागेका सरदार, विश्वास र माझीको राजनीतिक विरासत नेपाली कांग्रेस हो । एमालेले उम्मेदवार बनाएका विश्वास ०७९ सालको स्थानीय तह निर्वाचनको मुखमा कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए । ०६८ सालसम्म विदेशमा रहेका विश्वास नेपाल फर्किएपछि राजनीतिमा लागेका थिए । केही समय कांग्रेसको राजनीति गरेर उनी एमाले छिरेका हुन् ।
यता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबाट उम्मेदवार बनेका माझी पनि पूर्व कांग्रेसी नै हुन । तीन महिना अघिमात्रै उनले कांग्रेस छाडेका थिए । उपनिर्वाचनको उम्मेदवार बन्नु केही दिनअघि उनी माओवादी भित्रिएका हुन् ।
मोरङबाट निर्वाचित माओवादी सांसद अमनलाल मोदीले पालिका अध्यक्षको टिकट सुनिश्चित गर्दै माझीलाई पार्टीमा भित्र्याएका थिए । माओवादी सशस्त्र युद्धमा माओवादीबाट जोगिन कांग्रेस बनेका उनै माझी गणतन्त्रमा भने कांग्रेस छाडेर माओवादी बन्न पुगेका छन् । माओवादीले चुनावी अभियान सबैभन्दा अघिदेखि गरिरहेको छ। सावित्रीकुमार काफ्ले, अमनलाल मोदी, जीवन आचार्यसहितका नेताहरू ग्रामथानमा केन्द्रित छन्।