Logo

निर्णायक खेलमा जित निकाल्दै नेपालको यू-१९ टोलीले जित्यो कर्नाटकविरूद्धको सिरिज



काठमाडौं । नेपाल यू-१९ टोलीले कर्नाटकविरूद्धको सिरिज जितेको छ । आज भएको अन्तिम तथा पाँचौ खेलमा कर्नाटकविरुद्ध ७ विकेटको शानदार जित निकाल्दै नेपाली टिमले सिरिजमा ३-२ को जित निकालेको हो ।

आज भएको अन्तिम खेलमा नेपालले कर्णाटकलाई ७ विकेटले पाखा लगायो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ३९।५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर आकाश त्रिपाठीले नटआउट ८९ रन र नरेन भट्टले नटआउट १८ रन जोडे। आकाशले १०५ बल खेल्दा ७ चौका र १ छक्का हिर्काए।

त्यसअघि मयन यादवले पनि नेपालका लागि अर्धशतक प्रहार गरेका थिए। मयनले ५० रन बनाउन ६६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। त्यस्तैै अर्जुन कुमालले २१ रन थपे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा १९१ रन जोडेको थियो । उसका लागि कप्तान रोहितले सबैभन्दा बढी ४१ रन जोडे।

बलिङमा नेपालका कप्तान हेमन्त धामीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दा ३४ रन दिए। अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले २-२ विकेट लिए।

नेपाल र कर्नाटकविरुद्धको सिरिजमा कर्नाटकले पहिलो र चौथो खेल जित्दा नेपालले दोस्रो, तेस्रो र पाँचौ खेलमा जित निकालेको हो । यू-१९ एसिया कपको तयारीअन्तर्गत नेपालले सिरिज खेलेको हो ।

यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।



प्रतिक्रिया दिनुहोस्