काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार अन्तर्विरोधले ग्रस्त रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्का अंकगणित बलियोजस्तो देखिएपनि सरकार सुशासन र जवाफदेहिताको पक्षमा चुकेको बताएका हुन् ।
‘अहिले देशमा जुन प्रकारको सरकार बनेको छ, भन्न त यसलाई दुई तिहाईको सरकार पनि भनिन्छ । यो बडो शक्तिशाली पनि भनिन्छ । संसद्को गणित हेर्ने हो भने यो अंकको हिसाबले शक्तिशाली पनि छ । तर, यो आफैंभित्र अन्तर्विरोधले ग्रस्त छ । यो सरकारले ७ बुँदे सहमति गर्योैं भन्यो । त्यो ७ बुँदे सहमतिको हस्ताक्षरको डकुमेन्टसम्म अहिलेसम्म जनतासमक्ष ल्याएको छैन । एक वा अर्को नेताले अन्टासन्टा व्याख्यामात्रै गरेका छन्,’– उनले भने ।
कृषि, औद्योगीकरण र राष्ट्रिय उत्पादन बढाउने कुरामा यो सरकारले सिन्को भाँच्न नसकेको उनको दाबी छ । नेता खनालले कांग्रेस–एमाले सरकारमा दलाल पुँजीवाद हाबी भइरहेको बताए । उनले अंक गणितलाई राजनीतिक स्थायित्वको रुपमा लिन नहुने बताए । ‘सत्तामा बस्नेहरुको सत्ता रहिरन्छ भन्ने कुराको आधारमा स्थायित्व नापिँदैन,’– उनले भने ।
अहिले देश यथास्थितिमा रहेको र कतिपय अवस्थामा त उँधोगतिमा गएको बताए । छिमेकी मुलुक भारत र चीनसँग पनि वर्तमान सरकारले सम्बन्ध राम्रो राख्न नसकेको बताए । File Photo/RN