काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, अर्थविद डा. चिरञ्जिवी नेपालले देशको अर्थतन्त्र सकसमा रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अर्थतन्त्र सुधारउन्मुख भन्दापनि सकसमा रहेको बताएका हुन् । उनले विगतको ४ महिनाको राजश्व संकलन र पुँजीगत खर्चको अवस्था पनि अत्यन्त दयनीय रहेको बताए ।
‘देशको अर्थतन्त्र सुधारउन्मुख भन्दापनि सकसमा छ । सरकारको राजश्व संकलन र पुँजीगत खर्चको अवस्था अत्यन्त दयनीय छ । पहिलो ४ महिनामा राजश्व संकलन जुन रुपमा हुनुपर्नेे हो, त्यो हुन नसकेर, ४ खर्बको हाराहारीमा उठ्नुपर्नेमा त्यो हुन नसकेर ८३ अर्ब घाटाको स्थिति छ भने पुँजीगत खर्चको पनि राम्रो स्थिति छैन । वार्षिक लक्ष्यको १० प्रतिशतमात्रै देखिएको छ,’– उनले भने ।