काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवसायी दुर्गा प्रसालले कम्बोडियामा एमाले नेताहरुको लगानी छ भनेर गरेको प्रचारको खण्डन गरेका छन् ।
शुक्रबार एमालेले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले एमाले नेताहरुको लगानी प्रमाणित गर्नेलाई त्यसको डबल दान दिने उद्घोष गरेका हुन् ।
‘कम्बोडियाको टेलिकममा केपी शर्मा ओलीको लगानी भनेर स्याल हुँइयाँ मच्चाउने प्रयत्न भइरहेको छ,’ पोखरेलले भने, ‘हाम्रो अध्यक्षले भन्नुभएको छ, लगानी छ भन्ने प्रमाणित गरुन, त्यसमा थपेर त्यो लगानी सम्बन्धि व्यक्तिलाई दिन्छु भनेर रोष्टममा उभिएर भाषण गर्दा पनि त्यही विषयलाई चर्चा गर्ने गरिन्छ।’
महासचिव पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य केपी ओलीले गरेको दाबी गर्दै जस भने अरुले नै लिएको दाबी गरे । ‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने ।
लोडसेडिङ अन्त्यको जस अरूले लिएको गुनासो गर्दै पोखरेलले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’