काठमाडौं, ७ मंसिर । वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठले सत्तारुढ ठूला दलहरुलाई ठेगान नलगाई देशमा राजनीतिक स्थिरता आउन नसक्ने टिप्पणी गरेका छन् । आज (शुक्रबार) दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको सभालाई सम्बोधन गर्दै गठबन्धनकारी नेताहरुलाई उनीहरुले नै बनाएको जेलमा कोच्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले भने, ‘ठूला दलहरुलाई अन्यथा व्यवस्था नगरी, यिनीहरुलाई ठेगान नलगाइनकन यहाँ राजनीतिक स्थिरता आउनसक्ने सम्भावना देखिएन । मैले यो आवाज पनि सुन्ने गरेको छु कि यी गठबन्धनकारी नेताहरुलाई लखेट्नुपर्छ, धपाउनुपर्छ । त्यो होईन साथीहरु, लखेट्ने, धपाइने होईन । यिनीहरुलाई कानुनबमोजिम मुद्दा चलाएर यिनीहरुले नै बनाएको जेलमा कोचेर राख्नुपर्छ ।’