काठमाडौं । सत्तासिन दल नेकपा एमालेले काठमाडौंमा जागरण सभाको आयोजना गरेको छ । अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेको भन्दै त्यसलाई चिर्नका लागि एमालेले जागरण सभाको आयोजना गरेको हो ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो।
जागरण सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले सम्बोधन गरेका थिए । जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेविरुद्ध दुस्प्रचार भइरहेको भन्दै बचाउ गरेका थिए । कार्यक्रममा ओलीले एमालेकाबारेमा उठेका विभिन्न प्रश्नको स्प्रष्टीकरणसमेत दिएका थिए ।
अहिले लोकप्रियतावाद होइन, ढाँटवाद चलिरहेको छ
जागरण सभालाई सम्बोधन गर्दै ओलीले देशमा अहिले लोकप्रियातावाको नाममा ढाँटवाद चलिरहेको बताए । ‘मान्छेलाई ढाँटेर, अल्मल्याएर, झुटो कुरा गरेर हुन्छ, अहिले लोकप्रियतावाद नभएर अहिले ढाँटवाद चलिरहेको छ, देशमा नभएको हुन नसक्ने कुरा गरेर हुन्छ ?’ उनले भने ।
-कम्बोडियामा लगानीबारे पनि दिए प्रष्टीकरण
ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूले कम्बोडियाको टेलिकममा अर्बौ लगानी गरेकोभन्दै सार्वजनिक गरेको फेक भिडियोबारे खण्डन गरेका छन् । उनले उक्त भिडियो प्रकरणप्रति लक्षित गर्दै अमेरिकाको बैंकमा भएको आधा सम्पत्तिपनि आफ्नै भएको ठट्टा गरे । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’ उनले भने ।
ओलीले नेपालबाट कम्बोडिया चार घण्टामा नै पुग्न सकिने भन्दै गएर हेर्न पनि विरोधीहरुलाई चेतावनी दिए । “चार घन्टाभित्र कम्बोडिया पुग्न सकिन्छ । बैंककबाट ४५ मिनेटको उडानमै त्यहाँ पुगिन्छ। त्यहाँ गएर हेर्दा सबै स्पष्ट हुन्छ । तर, यहाँ अनावश्यक भ्रम फैलाएर जनतालाई अलमल्याउन खोजिएको छ ।” उनले भने ।
२०८३ असारसम्म म प्रधानमन्त्री, त्यसपछि देउवा !
प्रधानमन्त्री ओलीले अहिल्यै सरकार ढल्छ भन्दै गरेको प्रचारको पनि खण्डन गरेका छन् । उनले ०८३ सालको असारसम्म आफू प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्रा सुम्पिने उदघोष गरे । उनले सरकारको आयुबारे बोल्दै अब १८ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । ओलीले एमालेतिर औंला ठड्याएर नबोल्नसमेत चेतावनी दिए ।
“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।”
बीआरआई ऋणमा लिने अवस्थामा छैनौं
कार्यक्रममा ओलीले अहिले सर्वाधिक चासोको रुपमा हेरिएको चिनियाँ सहयोग परियोजनाबारे पनि बोलेका छन् । ओलीको आसन्न चीन भ्रमणको बेला बीआरआईमा हस्ताक्षर हुने चर्चा छ । तर,सत्ता साझेदार दल नेपाली कांग्रेस बीआरआई ऋणमा लिन नहुने अडानमा छन् । बीआरआईलाई लिएर सत्ता समीकरण नै संकटमा पर्नसक्ने चर्चाकाबीच ओलीले ऋणमा लिन सक्ने अवस्था नरहेको बताएका हुन् । ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ’, प्रधानमन्त्रीको भनाइ छ ।
एमाले हात्तिको बथान हो, नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैन
ओलीले एमालेलाई नाङ्लो ठटाएर तर्साउने सपना नदेख्न चेतावनी दिएका छन् । जनसभालाई सम्बोधन गर्दै ओलीले एमाले सीतिमिती धाकधम्कीले तर्सिने पार्टी नभएको जिकिर गरेका हुन् । ‘केही मान्छेहरु हात्तिको बथानमा गएर नाङ्लो ढ्याङ्ढ्याङ पारेर हात्ति तर्साउन खोजिरहेका छन् । एमाले भनेको हात्तिको बथानजस्तो हो । यहाँ नाङ्लो ठटाएर कोही तर्सिनेवाला छैनन्,’– उनले भने ।
साथै, उनले बाहिर फैलाइएको अफवाहको कुनै प्रवाह नगरी लगानी गर्न पनि आग्रह गरे । केही तत्वहरुकाले फैलाएको अफवाहको कुनै औचित्य नै नरहेको उनको भनाइ छ । आन्तरिक तथा बाह्य लगानीकर्ताहरुलाई उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
रास्वपालक्षित प्रश्न: आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?
जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रास्वपालक्षित पनि टिप्पणी गरेका छन् । सहकारी ठगीको आरोपमा रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । रास्वपाले रविलाई पक्राउ गरेर सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई खण्डन गर्दै ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए।
ओलीले रास्वपालाई लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’
उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं,’ प्रधानमन्त्री ओलीले भने ।
कुलमानविरुद्ध पनि बोले प्रधानमन्त्री ओलीले
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा पनि टिप्पणी गरेका छन् । कुलमानले प्राधिकरणमा बसेर देशलाई आर्थिक संकटतर्फ धकेलेको ओलीको आरोप थियो ।
‘बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने रु अहिले सरकारले भनिरहेको छ– बक्यौता उठाउ । विद्युत महशुल आयोगले जे भनिरहेको छ, त्यसअनुसार, टीओडी मिटर, दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ । त्यो मिटरको बिलअनुसार पैसा असुल गर, तुरुन्त असुल गर । लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर । महशुल नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने यस प्रकारका षड्यन्त्रहरु भइराखेको छ,’– प्रधानमन्त्री ओलीले भने ।
चाइना कार्डको अभिव्यक्ति बाहियात र कायर कुराहरू हुन्
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको चाइना कार्डको अभिव्यक्तिप्रति खण्डन गरेका छन् । केही दिन अघि प्रचण्डले भारतीय अनलाइनलाई अन्तवार्ता दिँदै ओलीले भारत चिड्याउन चाइना कार्ड खेलेको टिप्पणी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति एमालेले संस्थागत रुपमा नै खण्डन गरिसकेको छ । सो अभिव्यक्तिबारे ओलीले पनि टिप्पणी गरेका हुन् ।
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के(केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो.. कस्तो हुन्छ परिपक्व भनेको ? कता जानुपर्नेरु धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन् !,’ प्रधानमन्त्री ओलीले भने।