काठमाडौं, ८ मंसिर । राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयद्वारा काठमाडौंमा आयोजित हिन्दू संस्कृति र नेपाल(भारत सम्बन्ध विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जोलीले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताए । उनले नेपाललाई हिन्दू सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा सम्बोधन गर्दै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको बताए ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । कार्यक्रममा संविधान सभा सदस्य भुपेद्र चौधरी राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन् । जोली र अभियानका अध्यक्ष विनय यादवले खादा ओढाएर अभियानमा स्वागत गरे । चौधरीले अभियानमा आवद्ध भएपछि हिन्दू सभ्यताको सशक्तीकरण र राष्ट्रिय एकताका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिऐन थारू, र समाजसेवी विजय राउतलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
यस्तै, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बागमती प्रदेश इञ्चार्ज शिसिर रञ्जितकार, उपत्यका इञ्चार्ज महेश्वरमान वैद्य, र काठमाडौँ जिल्ला संयोजक राजकुमार लामीछानेलगायतको उपस्थिति थियो।
अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय हिन्दू गणराज्यको रूपमा घोषणा गर्ने उद्देश्यसहित अभियानले निरन्तर गतिविधि गर्दै आएको बताए । उनले भारतसँगको सांस्कृतिक सहकार्यले अभियानलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे । भाजपा नेता जोलीले भाजपाले नेपालसँगको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हिन्दू सभ्यताको संरक्षणका लागि निरन्तर सहकार्य गर्ने आश्वासन दिए ।
कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन साझा प्रयासको महत्त्वलाई पुनः पुष्टि गरेको छ।