काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको हो ।
सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज पाँचौ पटक अदालत लगिएको हो ।
लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।
उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो ।
लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।