Logo

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत



काठमाडौँ । प्रतिनिधिसभाको सचिवबाट सुरेश अधिकारीले दिएको राजीनामा स्कीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

 “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो । पूर्व शिक्षा सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेको जोडबलमै सचिवमा नियुक्त गरिएको थियो । तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्