काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिउका नरेश श्रेष्ठ र राजमान मानवबीच गठबन्धन भएको छ । सोमबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको उपस्थितिमा श्रेष्ठ र मानवबीच मिलेर जाने सहमति भएको हो ।
समझदारी अनुसार स्वतन्त्र उमेदवार नरेश श्रेष्ठले आफ्नो उमेदवारी निष्क्रिय गरेका छन् । उनले अर्का स्वतन्त्र उमेदवार राजमान महर्जन (मानव) लाई सहयोग र समर्थन गर्ने घोषणा गरेका हुन् ।
सोमबार बिहान कीर्तिपुरको पाँगामा आयोजित चुनावी प्रचार कार्यक्रममा उनले महर्जनलाई मत दिन आग्रह गरे । महर्जनका पक्षमा मत माग्न धरान उपमहानगरपालिकाका मेयर साम्पाङ पनि पाँगा पुगेका छन् । उनले महर्जनलाई जिताउन आग्रह गरे ।
राजमानको पक्षमा माहोल बन्दै गएको हुँदा श्रेष्ठले आफ्नो उम्मेदवारी निष्कृय बनाउने उद्घोष गरेका हुन् ।
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा प्रमुख पदमा दलका ९ र स्वतन्त्रका ११ जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले सबै उम्मेदवारलाई चुनावचिन्ह प्रदान गरिसकेको छ । राजमानले केटा र केटी पाएका छन् भने श्रेष्ठले पानीको बोत्तल चुनाव चिन्ह पाएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका राजमान सफाइ अभियान्ता हुन् भने श्रेष्ठ कानून व्यवसायी हुन् । २०७९ वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएका राजकुमार नकर्मीको निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।