काठमाडौं, १० मंसिर । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले लागूऔषध गाँजाको सुरमा एमालेविरुद्ध जरिवाना पत्र काटेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवादख गर्दै उनले बालेन नशाको उत्कर्षमा पुगेको बेला एमालेविरुद्ध जरिवाना पत्र काटेको आरोप लगाए । उनले एमालेविरुद्ध गरिरहेको काम होसमा नगरेको नेता थापाको दाबी छ ।
‘बालेन शाह गाँजाको होसबाट उत्रिनुपर्छ । बालेन शाहले गाँजा तानेर, गाँजाको होसमा काटेको पत्र फिर्ता लिएर उत्रिनुपर्छ, होसमा आउनुपर्छ,’– उनले भने ।
गत शुक्रबार (मंसिर, ७ गते) एमाले जागरण सभा आयोजना गरेको थियो । जागरण सभाको क्रममा दरबारमार्ग क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेविरुद्ध १ लाख जरिवाना गरेको थियो ।
बालेनले आयोजक को हो भन्ने कुरा नै थाहा नै नपाएको उनले बताए । एमालेले बालेनको गैरकानुनी, गलत र पूर्वाग्रही स्टन्टबाजीको प्रतिवाद गरिरहने उनले बताए । नेत थापाले बालेनले कटाक्षबाहेक गर्न केही नजानेको, पदको जिम्मेवारी बहन गर्न नजानेको र गैरकानुनी कामबाहेक अरु केही गर्न नजानेको उनले बताए ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजालाई पनि लागूऔषधको लिस्टमा राखेको छ । सो ऐनले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरीद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न निषेध गरेको छ । File Photo/RN