Logo

जसपा नेपालले पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा जनतामाझ प्रस्तुत गर्ने



काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

बैठकले पार्टीको चारमहिने संगठन निर्माण अभियानअन्तर्गत संगठन निर्माण अभियानको समीक्षा गर्दै अभियानको सुरुवात उपलब्धीपूर्ण हुँदै गएको र अभियानलाई अझ बढी गतिशील र उपलब्धीपूर्ण बनाउन सम्पूर्ण अभियन्ताहरुले कार्यक्षेत्रमा रहेर क्रियाशिल भई लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीका महासचिव लालबाबु राउले बैठकको निर्णय कार्यान्वयनका लागि पार्टीको मातहत समितिलाई आइतबार परिपत्र जारी गरेका छन् ।

साथै, स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले उम्मेदवारी दिएका क्षेत्रमा पार्टीलाई जिताउन सम्बन्धित क्षेत्रका नेता कार्यकर्ताहरुलाई सक्रियताका साथ परिचालित हुन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्