Logo

जनमतका केन्द्रीय सदस्य द्विवेदीसहितका नेताहरू जसपामा प्रवेश, खानेपानी मन्त्री यादवले गरे स्वागत



वीरगञ्ज, १० मङ्सिर । जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेदीलगायतका नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

आइतबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह-इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरू जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गरेका छन् ।

नवप्रवेशीहरूमा वीरगञ्ज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी, र वीरगञ्ज महानगरपालिका–१ का एकाइ सभापति चन्दन साह कानु रहेका छन्।

पार्टी प्रवेशलाई ऐतिहासिक क्षण बताउँदै मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात् गर्दै जसपा प्रवेश गरेकाहरूकी सहभागिताले सङ्गठन थप सुदृढ र प्रभावकारी बनेको बताए । ‘यहाँहरूको अनुभव र प्रतिबद्धता पार्टीका सिद्धान्तलाई जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण हुनेछ,’ उनले भने ।

जसपा केन्द्रीय उपमहासचिव समेत रहेका मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशीहरूको सक्रियता अपेक्षित रहेको पनि बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवप्रवेशी नेताहरूको आगमनले पार्टीलाई थप बलियो बनाएको बताए । ूजनताको समस्यालाई सम्बोधन गर्न र विकासको कार्यसूचीलाई तीव्र बनाउन तपाईँहरूको अनुभव र सक्रियता उपयोगी हुनेछ,” उनले भने ।

नवप्रवेश द्विवेदीले जनमत पार्टीभित्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले पार्टी परित्याग गरेको बताए । “जनमत पार्टीभित्र अध्यक्ष डा। सिके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले हामी निराश भयौँ। हाम्रो उद्देश्य जनताको भावना प्रतिनिधित्व गर्नु हो, जसका लागि जसपा उपयुक्त माध्यम हो,” उनले भने ।

त्यस्तै, जिल्ला सचिव शशी पाण्डेले भने, “हामी लोकतान्त्रिक मूल्यमान्यता, सामूहिक निर्णय प्रक्रिया र समावेशी संरचनालाई प्रोत्साहन गर्ने जसपाको नीति र विचारधाराबाट प्रभावित भएका छौँ। पर्सा जिल्लाको समृद्धि र जनताको हकहितका लागि हामीले यो निर्णय लिएका हौँ ।”

पर्सा जिल्लामा जसपाको गतिविधिलाई व्यापक बनाउन र जनतासँग प्रत्यक्ष रूपमा जोडिन नवप्रवेशीहरूको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । मन्त्री प्रदीप यादवको नेतृत्वमा जसपाले जनताको भरोसा जित्ने अभियानलाई अझै बलियो बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्