Logo

इन्कारी बयान दिँदै आएका रवि आफ्नो हस्ताक्षरसहितको चेक देखेपछि झस्किए



काठमाडौं, १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउप्रधान एवं गृहमन्त्री रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लामिछाने पक्राउ परेलगत्तै उनीविरुद्ध रुपन्देही, चितवन, काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रहरी हिरासतमा रहेका लामिछानेले अहिलेसम्म कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् । उनले दुवै ठाउँमा सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिलेसमेत सहकारी ठगीमा उनको संलग्नता नरहेको रिपोर्ट तयार गरेको थियो ।

तर, सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका लामिछाने त्यहाँ जिल खाएका छन् । सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बयान दिइरहेको अवस्थामा अनुसन्धान अधिकारीहरुले चेक देखाएपछि लामिछाने अक्कनबक्क परेका थिए । उक्त चेक लामिछाने आफैंले हस्ताक्षर गरी सुप्रिम सहकारीलाई दिएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आफैंले हस्ताक्षर गरी सुप्रिमलाई दिएको चेक देखेपछि लामिछाने केही समय अलमलमा परेका थिए । ती अनुुसन्धान अधिकारीका अनुसार त्यसपछि लामिछानेले आफ्नो चेक दुरुपयोग भएको जवाफ दिए । गोर्खा मिडियामा कार्यकारी निर्देशक रहेको बेला कहिलेकाहीँ खाली चेकमा समेत हस्ताक्षर गरेर छाड्ने गरेको र त्यो चेक त्यतिबेला नै दुरुपयोग भएका हुनसक्ने लामिछानेले बयानका क्रममा बताएका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्