काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताएका छन् । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले अहिले वर्तमान सरकारविरुद्ध प्रहार भइरहेको तर्फलक्षित गर्दै मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नेमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘जसले मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ,’– उनले भने ।
महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि सङ्कटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताए । ‘निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ,’– उनले भने ।
उनले अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने युग भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको बताए ।