काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य विनिता कठायतले कांग्रेस–एमाले गठबन्धन सरकारको औचित्य सकिइसकेको टिप्पणी गरेकी छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा जनतामाझ भनिएका उद्देश्यहरु पूरा नभएकाले यसको औचित्य सकिएको बताएकी हुन् । उनले वर्तमान सरकारले संविधान संशोधनको एजेण्डा अगाडि बढाउँछौं भनेर जनतालाई आश्वासन देखाएपनि अहिलेसम्म एकअर्कालाई जोगाउनमै व्यस्त रहेको बताए ।
‘जुन उद्देश्यकको लागि गठबन्धन सरकार बनेको हो, त्यो काम गर्दैन भने औचित्य छैन । कांग्रेस–एमाले गठबन्धनको औचित्य सकिइसक्यो,’– उनले भनिन्, ‘यो गठबन्धन समग्र देशको लागि काम गर्न भन्दा पनि कांग्रेस–एमालेलाई बचाउन हो । यो सरकारले देश र जनताको पक्षमा एउटा पनि काम गरेको छैन । कांग्रेस–एमालेसहितको सरकार बन्दा जे भनिएको थियो, त्यसको छेउमा पनि पुगेको छैन ।’
साथै, कांग्रेस–एमाले गठबन्धन सरकारले विधिको शासन र कानुनको पालना नगरेको उनको भनाइ छ । उनले आफ्नो पारिवारिक व्याकग्राउण्ड नेपाली कांग्रेस रहेको बताउँदै उनीहरुले राम्रो काम नगरेकाले रास्वपामा आएको बताईन् । उनले वर्तमान सरकार मरेको महशुस भइसकेको बताईन् ।
‘जुन ठाउँमा न्याय महशुस हुँदैन भने त्यो मर्यो भन्ने नै फिल हुन्छ । यहाँ विधिको शासन र कानुनको पालना छैन । मेरो परिवारको व्याकग्राण्ड नेपाली कांग्रेस हो । उहाँहरुले राम्रोसँग काम गरेको भए म यहाँ आउनु पर्न काम नै थिएन,’– उनले भनिन् ।