Logo

कांग्रेस-एमाले सरकारको नियत र निष्ठा राम्रो छैनः राप्रपा नेता लोहनी (भिडिओसहित)



काठमाडौं, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारको नियत र निष्ठा राम्रो नरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्रलाई माथि लैजाने विषयमा सरकारको नियत राम्रो नरहेको बताएका हुन् ।

अहिले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले देश म्भीर खतरा र शंकटमा रहेको बताउँदै आएपनि समाधानको उपाय के भन्ने कुरा दिन नसकेको टिप्पणी गरे । उनले भने, ‘अर्थतन्त्रलाई माथि लैजानका लागि नियत र निष्ठा राम्रो हुनुपर्यो । सरकारको नियतमा गम्भीरता मैले चाहिँ देखेको छैन । देश गम्भीर खतरामा छ, गम्भीर शंकटमा छ भनेर मन्त्री पनि भन्छन्, प्रधानमन्त्री पनि भन्छन् ।’

साथै, फरक प्रसंगमा उनले नेपालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण नलिने भनेर नीति बनाउन नहुने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको बैठकमा अहिले सरकारको ऋण सम्बन्धी कुनै पनि सम्झौता नगर्ने जानकारी गराएको बताए । प्रधानमन्त्री ओलीलाई आफूले नेपालमा पैसाको कमी भन्दा पनि संस्थागत अठोटको अभाव रहेको जानकारी गराएको पनि उनले बताए । अहिले विश्व बैंकले दिएका कतिपय ऋण परियोजना नै कार्यान्वयनमा नआएको उनको भनाइ छ ।

‘मैले उहाँलाई यो पनि भनेँ–अहिले नेपालमा पैसाको कमी होईन, त्यसलाई सदुपयोग गर्ने संस्थागत अठोटको कामी हो । विश्व बैंकले नै दिएका कतिपय ऋणहरु हामी प्रयोग गर्न नसकेर बसिरहेका छौं । यी सबै परिवेशमा बीआरआईको ऋण लिनुपर्ने कि नपर्ने तपाईँ सत्तामा हुनुहुन्छ निर्णय गर्नुस् । योसित लिन्छु, अर्कोसित लिन्नँ भनेर मित्र राष्ट्रहरुको संस्थाको बारेमा नीति चाहीँ बनाउन हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्