काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करीको आरोपबाट उन्मुक्ति पाएसँगै वर्तमान सत्ता गठबन्धनको आलोचना सुरु भएको छ । पूर्वमन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेपछि गत कार्तिक १५ गते प्रहरीले पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई प्रतिवादी नबनाई सो घटनामा संलग्न रहेको आरोपमा ११ जनाविरुद्ध अभियोगपत्र दायर गरिसकेको छ ।
पूर्वमन्त्री अधिकारीले अनुसन्धानमा संलग्न अधिकारीहरुसँगको बयानमा सो घटनाको आफू पीडित भएको दाबी गरेका छन् । मानव तस्करी तथा किर्तेबारेमा आफूले मौकामै प्रहरीलाई सूचना दिएको उनको जिकिर छ । उनले बयानका क्रममा भनेका छन्, ‘मानव तस्करी तथा कीर्तेसम्वन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुनेवित्तिकै प्रहरीलाई सुचना गर्ने व्यक्ति हुँ । म अपराध घटनाको पीडित र अपराधको पहिलो सुचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन । मसँग हङकङमा भेट भएका कन्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सुचनाको आधारमा पक्राउ गरी अनुसन्धानसमेत भैरहेको छ । मेरो हैसियत भनेको अपराधको सुचना दिने सरकारी गवाह हो । मेरो र मेरो मन्त्रालयको सही छाप र परिचय पत्र कीर्ते गरी बनाएको हुँदा म आफैं पीडित हुँ दोषीमाथी कारवाही गरी मैले न्याय पाउँ ।’ File Photo/RN