Logo

प्रधानमन्त्री ओलीले तीन वर्षमा १० खर्ब ऋण बढाएको कांग्रेसको आरोप (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा ३ वर्षमा १० खर्ब ऋणको भार थपेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले माओवादी र एमाले मिलेर बनेको नेकपाको कार्यकालमा देशमा १० खर्ब ऋण थपिएको बताएका हुन् । सो अवधिमा सरकारको नेतृत्व ओलीले गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीमा ऋण लिने उत्ताउलोपना रहेको टिप्पणी गरे । ‘जतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र र एमाले मिलेर सरकार बन्दैथियो । त्यो बेला नेपालको ऋण करिब ७ खर्बमात्रै थियो । तीन वर्षमा त्यो १७ खर्बमा पुग्यो । १० खर्ब त्यो बेला बढ्यो । ऋण लिने जुन उत्ताउलोपना छ, त्यो नहोस् भन्ने कांग्रेस चाहन्छ,’– उनले भने ।

नेपालको अहिलेको अवस्थालाई हेरेर विश्व समुदाय नै सहयोग गर्न तयार रहेको उनले बताए । नेता विश्वकर्माले यस्तो अवस्थामा नेपालले ऋणमा भन्दा पनि अनुदानमा पाउने विकास परियोजनाहरुमा विशेष जोड दिनुपर्ने बताए ।

साथै, उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) पनि अनुदानमा मात्रै लिन सकिने बताउ । नेता विश्वकर्माले बीआरआई ऋण दिने संस्था नै नरहेको उनको दाबी छ । उनले थर्काएर, फकाएर, लोभ्याएर र राष्ट्रिय राजनीतिमा रहेका दलहरुबीच फाटो ल्याएर चीनले बीआरआई लाग्न खोजेको टिप्पणी गरे ।

‘ऋण भन्ने कुरा साहुसँग भन्दा बैंकसँग बढी सजिलो हुन्छ । बीआरआई ऋण दिने संस्था होईन, वर्ल्ड बैंक, एडीबीजस्तो होईन । बीआरआई विश्वसामु चीनले आफ्नो विकासका पूर्वधारको आधारमा आफ्नो सञ्चालन विस्तार गर्ने हो । यो चीनको आफ्नो परियोजना हो ।’ उनले भने, ‘यसमा नेपाली कांग्रेसको तर्फबाट भनाइ के हो भने ऋण दिने भए एडीबी, वर्ल्ड बैंककै व्याजदरमा देउ । एडीबी, वर्ल्ड बैंककको जस्तै तिर्न सक्ने आधारमा देउ न त । एडीबी, वर्ल्ड बैंकमा हामी चाहिएको बेला निवेदन हालेर ऋण माग्छौं । ऋण पनि काँही, थर्काइथर्काइ, फकाइ–फकाई, लोभ्याइलोभ्याइ लिनै पर्छ भनेर राष्ट्रिय राजनीतिक दलहरुबीचमा विवाद सिर्जना गराउने हो र ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्