काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदान र ऋण दुवैमा स्वीकार गर्न सकिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चीनसँग ३ प्रतिशत भन्दा कम व्याजदर भएको सफ्ट लोन स्वीकार गर्न सकिने बताएका हुन् । उनले विश्व बैंकसँग, एडीबी, भारत, अमेरिकासँग ऋण लिन हुने र चीनसँग लिन नहुने भन्ने कुरा ठीक नहुने बताए ।
‘मुलुकको राष्ट्रिय हितको सन्दर्भमा अनुदान पनि हुनसक्छ, ऋण पनि हुनसक्छ । हाम्रो देशको आवश्यक्तामा हामीले कुनै कुरालाई प्राथामिकता दिने र कस्तो मोडालिटी विकास गर्ने भन्ने कुरामा अनुदान पनि हुनुसक्छ । हामीलाई पुँजी नहुँदाको निम्ति ऋण पनि हुनसक्छ,’– उनले भने ।
साथै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा गएको बेला कांग्रेसकै कारण बीआरआईमा सम्झौता हुन नसकेको बताए । उनले अन्तिम समयमा आएर कांग्रेस नेताहरुले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा बीआरआईको बी पनि उच्चारण नगर्नु भन्दै दवाब दिएको बताए ।
‘प्रचण्डको चीन भ्रमणका क्रममा चीनका योजना आयोगका सदस्य र नेपालको योजना आयोगका सदस्यहरुको बीचमा कुन–कुन परियोजनामा लगानी भित्र्याउने भन्ने कुराको बृहत गृहकार्य भयो । त्यतिबेला प्रचण्ड युएनको भ्रमणको साथसाथै त्यतैबाट चीन भ्रमणमा जाने र बीआरआईअन्तर्गत भएका परियोजनामा सम्झौता गर्ने सोच र योजना बनिसकेको थियो । जानुभन्दा दुई दिनअघि नेपाली कांग्रेसका प्रतिनिधिहरु तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग गएर बीआरआई सम्बन्धि बी उच्चारण गर्न पाइँदैन । यो हाम्रो लाइन हो भन्नुभयो । कांग्रेससँगको संयुक्त सरकार थियो त्यो बेला । उहाँहरुले त्यो दवाब दिनुभयो,’– उनले भने ।
अमेरिकनहरुले नेपालमा हामी लागनी दिन्छौं, चीनसँग सम्झौता नगर भन्ने दवाब र घेराबन्दी गरेको उनले सुनाए । मुलुको स्वतन्त्रता, स्वायत्तता र विकासका लागि छिमेकी मुलुकहरुसँगै नै आर्थिक सहायता लिएर अगाडि बढाउनुपर्ने उनले बताए । नेपालमाथि सामरिक दवाब दिने नीतिअन्तर्गत नै बीआरआई सम्झौता नगर्न दवाब आइरहेको उनले सुनाए ।