काठमाडौं । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । आज बसेको विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।
उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको स्रोतले जनाएको छ । सञ्चालक समितिको सो निर्णयमा सञ्चालद्धय कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाएका छन् ।
गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो ।लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । प्राधिकरणले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन दिएको अवधि बुधबार सकिँदै छ ।
आजसम्म बक्यौता नबुझाए लाइन काट्ने बताउँदै आएका प्राधिकरणका एमडी कुलमान घिसिङले आफ्नो अडान छाडेपछि बक्यौता नतिर्ने उद्योगीले तत्काललाई उन्मुक्ति पाएका छन् । सरकारले कुमलमानमाथि नै छानबिन गर्न समिति बनाएपछि उनी लचक भएको स्रोतको दाबी छ ।