Logo

रास्वपा नेताहरुको हारगुहार जारी, बल्लबल्ल भेट दिए प्रधानमन्त्री ओलीले



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक परियार प्रधानमन्त्री ओली भेट्न सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि रास्वपा नेताहरुलाई भेट्ने समय दिएका थिएनन् । ओलीले भेट्न समय नदिएपछि रास्वपा नेताहरुले पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेका थिए ।

हिजो (मंगलबार) ओली–परियारबीचको भेट समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रीत भएको स्रोतको दाबी छ । भेटका क्रममा रास्वपा संसदीय दलका प्रमुख सचेतक परियारले आफ्ना पार्टी अध्यक्ष रवि लामिछानेको विषयसमेत उठान गरेका थिए ।

राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै उनले प्रधानमन्त्री ओलीसमक्ष गुनासो पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीलाई नेता परियारले लामिछानेलाई थुनामा राखेर नै अनुसन्धान गर्नुपर्ने परिस्थिति नरहेकोबारेमा पनि ध्यानाकार्षण गराएका थिए ।

रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधलगायतका कसुरमा छानविन भइरहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्