काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कांग्रेस–एमाले सरकार निर्माण प्रक्रियादेखि नै विवादित बनिरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका सन्दर्भमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्माण प्रक्रियादेखि नै विवादमा परेको सरकार अहिले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को विषयलाई गिजोलेर झनै विवादमा परिरहेको बताएका हुन् ।
नेता दाहालले नक्कली भुटानी शरनार्थी प्रकरण र गिरीबन्धु टी स्टेट प्रकरण नै वर्तमान सरकारको गठजोड रहेको दाबी गरे । साथै, ओली सरकारले विगतको ४ महिनामा कुनै एउटा पनि राम्रो काम गर्न नसकेको उनले बताए । भारत भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणको निम्तिो मागेको उनले बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने उनको दाबी छ । उनले प्रधानमन्त्री ओली र उनको भ्रमण दलमा रहेकाहरु चीन घुम्ने र नेपालको १०÷२० करोड खर्च गर्नेबाहेक अर्को प्रगति नहुने टिप्पणी गरे ।
‘निरन्तर हामीले भन्ने गरेका छौं– भ्रष्ट, दलाल, भू–माफिया र विचौलियामैत्री गतिविधिहरु सरकारले गर्दैछ । त्यसकारण यसै सन्दर्भमा भारत भ्रमणको असफल प्रयत्नपछि चीन भ्रमण हुँदैछ । परराष्ट्र मन्त्रीमार्फत भारत भ्रमणको निम्तो मागियो, तर पाइएन । भारतको निम्तो नपाइसकेपछि हामीले चीन भ्रमण सुरु गर्यौं । चीन भ्रमण चीनले इच्छाएको भ्रमण होईन । हाम्रो आवश्यक्ताबमोजिमको भ्रमण पनि छैन,’– नेता दाहालले भने ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डा पनि नरहेको र भ्रमणमा जानु पूर्व नै विषयहरु गिजोलिएको उनको भनाइ छ । उनले बीआरआई नेपाल सरकारले स्वीकारिसकेको परियोजना रहेको बताउँदै अविच्छिन्न संस्थाले गरेको निर्णयलाई निरन्तरता दिनुपर्ने बताए ।
बीआरआई परियोजना कार्यान्वयनमा जाँदा राष्ट्र, जनता, विकास र समृद्धिलाई केन्द्रमा राखेर कूटनीतिक ढंगबाट समाधान गरिनुपर्ने उनले बताए । नेता दाहालले बीआरआई कुनै दल विशेषले स्वीकार गर्ने वा नगर्ने भन्दा पनि राज्यले स्वीकार गरिसकेको तथ्य भूल्न नहुने बताए ।
नेता दाहालले अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा देशको ऋण ७ खर्ब रहेकोमा पछि ११ खर्ब थपिएको बताए । उनले ओलीको अघिल्लो प्रधानमन्त्रित्व कालमा ऋणको सदुपयोग हुन नसकेको बताए । ओली नेतृत्वको सरकारले संस्थागत भ्रष्टाचार गरेको र ठूला–ठूला अर्बौंका अनुत्पादक भ्यूब टावरहरु बनाइएको बताए । उत्पादन र रोजगार केन्द्रीत अभियानमा ऋणको लगानी गर्नुपर्नेमा रेलबे कम्पनी, पानी जाहाज कम्पनी खोलेर राजनीतिक भर्ती केन्द्र बनाइएको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनका सन्दर्भमा नेपाल सरकारले प्रत्यक्ष पहल गर्नुपर्ने बताए । उनले गत वर्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा पोखारा विमानस्थलको ऋणलाई अनुदानमा बदल्ने सहमति भएको स्मरण गराउँदै भने ‘बीआरआई परियोजना कार्यान्वयन प्रक्रियामा नेपाल सरकारको प्रत्यक्ष पहल हुनुपर्छ ।’
साथै, वर्तमान सरकारलाई संविधान र कानुनले नचिन्ने दुई दलीय कार्यदलले नियन्त्रणमा लिएको उनको टिप्पणी छ । नेता दाहालले संविधान र कानुनविपरीत रहेको कार्यादलले ओली नेतृत्वको सरकारलाई अंकुश लगाएको टिप्पणी गरे । ‘त्यो कार्यदलले सरकारलाई नियन्त्रणमा लिएको छ । जनमतको अपमान भएको छ । जसलाई संविधान र कानुनले चिन्दैन । त्यस्तो कार्यदलले सरकारलाई अंकुश लगाएको छ,’– उनले भने ।
साथै, ओली नेतृत्वको मन्त्रिपरिषद्मा जेल जानुपर्ने मान्छेहरु मन्त्री बनिरहेको उनको आरोप छ । नेता दाहालले तिनै मान्छेहरुलाई बचाउन कांग्रेस एमाले मिलेको टिप्पणी गरे ।