Logo

भारत र चीनसँग नेपालले जति ऋण लिएपनि हुन्छः पूर्वमन्त्री तामाङ



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओली देशभित्र सहमति नजुटेका कुरा बोकेर चीन भ्रमणमा नजाने बताएका छन् । आज (बुधबार) प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा रिपोर्टर्स नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमति नभएका कुनै पनि विषयमा प्रस्ताव नराखिने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यू राष्ट्रभित्र सहमति नभएका विषयहरु बोकेर जानुहुन्न । विदेशमा गएर एक्लैले केही निर्णय गर्नुहुन्न । त्यसकारणले पनि छलफल चलिरहेको छ, राष्ट्रिय सहमति गर्ने प्रयन्त भइरहेको छ । कतिपय चिजहरु राष्ट्रिय सहमति भएनन् भने ती विषयमा प्रस्ताव राख्नुहुन्न । त्यो मर्यादा उल्लङ्घन हुँदैन,’– उनले भने ।

साथै, सहमति भएको खण्डमा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा अगाडि बढाउनको लागि पहल गरिने उनले बताए । पुराना कतिपय ऋणमा लिइएका परियोजनाहरुलाई पनि अनुदानमा बदल्दिनका लागि अनुरोध गरिने पनि उनले बताए । नेता तामाङले नेपाल भारत र चीनसँग ऋण लिन डराउनुपर्ने कुनै आवश्यक्ता नै नरहेको बताए । नेपालले आफ्नो कूटनीति प्रयोग गरेर भारत र चीनसँग जतिसुकै ऋण लिएपनि हुने बताए ।

‘यदि नेपालको कुटनीतिले भ्याउने हो भने भारत र चीनसँग जति ऋण लिएपनि हुन्छ । कुनै दिनमा गएर नमस्कार गरेर हामीले सकेनौं, अनुदानमा बदल्देउ भन्न सकिन्छ । नेपाललाई निचोरेर केही प्राप्त हुनेवाला छैन । नेपाललाई मनाएर नै भारत र चीनले केही फाइदा गर्न सक्छ । त्यसकारणले हामीले त्यो ढंगको कुटनीति विकास गर्न सक्नुपर्यो,’– उनले भने ।

नेता तामाङले पार्टीको रङ्ग घोलेर अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई बिगार्न नहुने बताए । चीन र भारतसँग नेपालले समदुरी राख्नुपर्ने उनको बुझाइ छ । आन्तरिक उत्पादन बढाउँदा अहिले देशमा रहेको २४ खर्ब ऋण ३ वर्षभित्र नै तिर्न सकिने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको व्यापारसँग सम्बन्धित विषय, नाका खुलाउने, चीनको बन्दरागाह प्रयोग गर्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्