काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालले अहिले कुनै पनि देशसँग ऋण लिन नहुने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका सन्दर्भमा आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल अहिले ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्सअन्तर्गको ऋण लिएको खण्डमा आगामी आर्थिक वर्षमा बजेटको झण्डै १५ प्रतिशत रकम ऋण तिर्नकै लागि छुट्याउनुपर्ने स्थिति आउने बताए ।
‘बीआरआई अन्तर्राष्ट्रिय समुदायसम्म सञ्जाल जोड्नका लागि बनाएको रणनीतिक परियोजना हो । अहिले हामी ऋण तिर्न सक्ने अवस्थामा छैनौं । यो भन्दाअघि १८ खर्बको बजेट बनाउँदैगर्दा ३ खर्ब बजेट त ऋण तिर्नका लागि छुट्याउनुपर्यो । अहिले हामीले विकास निर्माण अथवा पूर्वाधार निर्माणका लागि बजेट चाहीँ ३ खर्ब छुट्याउँछौं । तीन खर्ब नै हामी ऋण तिर्नका लागि छुट्याएका छौं । अब हामीले थप ऋण लियौंभने आर्थिक वर्ष २०८२/०८३ मा हाम्रो बजेटको झण्डै १५ प्रतिशत ऋण तिर्नका लागि छुट्याउनुपर्छ,’– नेता विश्वकर्माले भने ।
साथै, उनले बीआरआईलाई लिएर जनमत विभाजित गर्न नहुने उनको सुझाव छ । उनले सबै एकमत भएर चीनसँग अनुदानमा परियोजनाहरु माग गर्नुपर्ने बताए । चीनले यसअघि नै अनुदानमा दिन्छु भनेको करिब १ खर्ब दिन बाँकी नै रहेको उनको भनाइ छ । पहिला उक्त एक खर्ब रुपैया अनुदानको लागि पहल गर्नुपर्ने नेता विश्वकर्माको सुझाव छ ।
‘हामीले माग गरेको योजनामा हामीलाई रकम चाहिएको छ । त्यो दिनस् । सक्नुहुन्छ पहिले बोलेकै पैसा दिनुस् । पहिला बोलेकै पैसा हामीले एक खर्बजति पाउन बाँकी रहेछ । उहाँहरुले अनुदान दिन्छु भनेकै पैसा एक खर्ब बाँकी रहेछ । सक्नुहुन्न भने बीआरआईबाटै दिनुस् । बीआरआईबाट पनि तपाईँले ब्याज लिनुहुन्छ भने चर्को व्याज नलिइदिनुस्, तिर्ने अवधि बढाइदिनुस् । यस्तै कुरामा छलफल भइरहेको छ,’– उनले भने ।
साथै, उनले बीआरआई कूटनीतिक विषय रहेको बताउँदै मुलुकभित्रको राजनीतिक विषय बनाएर गिजोल्न उपयुक्त नहुने धारणा व्यक्त गरे । उनले आ–आफ्नो दलको आइडीओलोजी थन्क्याएर राष्ट्र र जनता र राष्ट्रिय हितमा सोच्न आग्रह गरे ।
‘कूटनीतिक विषयलाई मुलकभित्रको राजनीतिक विषय बनाएर गिजोल्नुहुँदैन । यो विषयमा सत्तापक्ष, प्रतिपक्षले आ–आफ्नो आईडीओलोजीलाई एक ठाउँमा थन्क्याएर राष्ट्र र जनता र राष्ट्रिय हितमा सोच्नुपर्छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीले चीन सरकारसँग पोखरा विमानस्थलको ऋण अनुदानमा रुपान्तरण गर्न आग्रह गर्नुपर्ने उनको माग छ । नेता विश्वकर्माले नेपालले चीनलाई नेपालको भूमि चीनविरुद्ध प्रयोग नहुने र चीनको सुरक्षामा नेपाल सहयोगी बन्ने कुरामा विश्वास दिलाउन सक्नुपर्ने बताए । उनले बीआरआई इग्नोर गर्ने, नलिने नभएर नेपालको आवश्यक्ता र जनताको चाहनामा अनुदान पाउने गरी अनुदानमा टुङ्ग्याउनुपर्ने बताए ।
‘चीनलाई हामीले विश्वास दिलाउनुपर्छ । चीनको स्वार्थ के हो भने नेपाली भूमि चीनको विरुद्धमा कहिले पनि प्रयोग नहोस् । चीनको सुरक्षामा नेपाल सहयोगी बनोस् भन्ने हो । त्यो हामीले विश्वास दिलाउनुपर्छ,’– उनले भने ।
उनले नेपाली कांग्रेसले बीआरआईको ऋण लिर्नै पर्दा पनि न्यूनतम् व्याजदरमा पाउनुपर्ने माग राखिरहेको बताए । अहिले बीआरआईअन्र्गतका परियोजनामा लिइएको ऋणका व्याजदर एकदमै महँगो रहेको उनले बताए ।
बीआरआईको ऋणको कारण केही देशहरु अप्ठ्यारोमा परेको पनि उनले बताए । ‘हामीले ऋण लिनुपर्छ भने न्यूनतम् व्याजदरमा देउ पनि भनेका छौं । अहिले सबैभन्दा अधिकतम् व्याजदर छ यसको । अधिकतम् व्याजदर भएको कारणले थुप्रै मुलुकहरु लिने बेलामा लिइहालियो, अहिले के गर्ने, के गर्ने भएका छन् ।’ नेता विश्वकर्माले भने, ‘जुन परियोजनाबाट देशहरु अप्ठ्यारोमा परिराखेका छन् भन्ने थाहा पाउँदा पाउँदै हामी फेरि विना सुझबुझ त्यो परियोजना लिन किन हौसिनुपर्यो ?’