काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने भएको छ । माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी राजुकुमारी विकले उम्मेदवारी फिर्ता लिँदै नेकपा एमालेलाई समर्थन गरेपछि माओवादी केन्द्रको हेडक्वाटरले हस्तक्षेप गर्दै उपाध्यक्षमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी जवा शाहीलाई भोट हाल्न निर्देशन दिएको हो ।
माओवादी केन्द्र स्वामीकार्तिक खापर गाउँ कमिटीले यसअघि नै उपाध्यक्षमा उम्मेदवारी दिएकी एमालेकी सुलोचनाकुमार भण्डारी बुढालाई समर्थन जनाइसकेको छ । तर,प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीका उम्मेदवारलाई भोट हाल्न निर्देशन दिएका छन् ।
‘उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन गरेको र माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी भएको सम्बन्धमा यो पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको छ,’ पोखरेलले भनेका छन्, ‘केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको छ । त्यसैले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन गरिन्छ ।’
यता माओवादीको गाउँ कमिटीले भने २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने गरि एमालेसँग समझदारी गरेको छ ।स्वामीकार्तिकमा एमाले र समाजवादीबाहेक कांग्रेसबाट पुल्तीसरा शाही पनि उम्मेदवार छिन् । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।