Logo

चुनावी सभालाई सम्बोधन गर्न कीर्तिपुर जाँदै तीन दलका शीर्ष नेता



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गतको प्रचार प्रसारमा व्यस्त रहेका दलहरु आज कीर्तिपुर नगरपालिकाको चुनावी सभामा सम्बोधन गर्न जाने भएका छन् । उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जिताउन र आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न शीर्ष नेताहरु कीर्तिपुर जान लागेका हुन् ।

बिहीबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले महासचिव शंकर पोखरेल, बागमती प्रदेश इन्चार्ज राजन भट्टराई तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाशशर्माले कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

नेपाली कांग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरको लोकतान्त्रिक चोकमा चुनावी सभा गर्दैछ । त्यहाँ महामन्त्रीद्धय थापा र शर्माले सम्बोधन गर्नेछन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमलाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

सत्तारुढ दल एमालेले पाँगामा कार्यक्रम गर्दैछ । दिउँसो ३ बजेपछि हुने कार्यक्रमलाई महासचिव पोखरेलसहितका नेताहरुले सम्बोधन गर्नेछन् । ०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । कीर्तिपुरको मेयरमा यसपटक कांग्रेसबाट कृष्णमान डंगोल, एमालेका सुरेन्द्र मानन्धर र नेकपा माओवादीका शिवशरण महर्जनबीच प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्