काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका जंगबहादुर शाहीलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ । एकीकृत समाजवादीको गाउँ कमिटीले आज एक विज्ञप्ति जारी गर्दै एमालेलाई समर्थन गरेको घोषणा गरेको हो ।
एमालेका शाहीलाई समर्थन गर्दै हमालले महाबुको विकास र एमालेले अघि सारेको समृद्धिको नारालाई पूरा गर्न एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
चुनावी अभियानमा रहेका एमाले नेताहरुले समाजवादी पार्टीबाट उम्मेदवार बनेका जगत हमालले एमालेका जंगबहादुर शाहीलाई समर्थन गरेसँगै महाबुमा एमाले विजयी हुने आधार बलियो बनेको दाबी गरेका छन्।
बिहीबार एकीकृत समाजवादी महाबु गाँउ कमिटी अध्यक्ष देव बहादुर हमाल र एमाले गाउँ कमिटी अध्यक्ष पूर्णबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन दुई पार्टी एक भएर चुनावमा होमिने निर्णय गरेका छन् ।अलग-अलग उम्मेदवारी दिएर चुनावमा जाँदा कम्युनिष्ट मत छरिने र अन्य पक्षले फाइदा लिने हुँदा दुई पार्टी मिल्नुपरेको उनीहरुको दाबी छ ।
‘अलग अलग उम्मेदवारी लिई निर्वाचनमा जाँदा बहुमत जनताले कम्युनिष्ट पार्टिलाई माया गरि मतदान गरेर जिताउन चाँहदा चाँहदै पनि नेपाली काग्रेस पार्टीसँग झिनो मतले पराजय भोग्नु परेको तितो यथार्त हाम्रा सामु घाम जतिकै छर्लङ्ग छ । नेपाली काग्रेसले निर्वाचन जितिसके पश्चात महाबुवासी जनताका ईच्छा, चाहाना र आवश्यक्तामाथी कुठाराघात गरि महाबु सम्बृदीको अभियानलाई अवरूद्द गरी दिएको अवस्थामा भविष्यमा महाबु गाँउपालिकामा नेपाली काग्रेस पार्टिलाई पराजित गराउन नेकपाको रक्तरंजित झण्डा फहराउन र दुई पार्टिलाई एकताबद्द गरी दैलेख जिल्लाको कम्युनिष्ट आन्दोलनलाई एकाकार गरि नेपालको कम्युनिष्ट आन्दोलनमा समेत एकताको संदेश दिने अभिभारा पुरा गर्ने लक्ष्यलाई साकार पार्नका लागी एमाले र नेकपा एकिकृत समाजवादीको संयुक्त चुनावी मोर्चा निर्माण गरी निर्वाचनमा सहभागी भई कम्युनिष्ट आन्दोलनको रक्षा गर्न एक मात्र उम्मेदवार तयार गरी निर्वाचनमा जानु पर्ने अवस्था देखिएकाले एकिकृत समाजवादीबाट महावु गाँउपालिका अध्यक्ष पदका उम्मेदवार क. जगत बहादुर हमालको अध्यक्ष पदको उम्मेदवारी निस्कृय भएको घोषणा गरि एमालेबाट अध्यक्ष पदका उम्मेदवार क जंग बहादुर शाहीलाई अत्याधिक बहुमतले जिताउन दुवै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र आम मतदाताहरू एकबद्द भएर सुर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजय गराऔ’ विज्ञप्तिमा भनिएको छ ।
०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित लच्छुमन गुरुङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले प्रकाश भण्डारीलाई उम्मेदवार बनाउँदा रास्वपाबाट प्रकाश बुढा उम्मेदवार छन् । केन्द्रमा एकीकृत समाजवादी र माओवादीबीच गठबन्धन बनेको छ । माओवादी र एकीकृत समाजवादीले मिलेर चुनाव लड्दा महावुमा भने एमालेलाई समर्थन गरेको छ ।