काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नाम स्वतन्त्र राखेर रवि लामिछानेले ठगी गरेको आरोप लगाएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले लामिछानेले दलको नाम स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टिलाई क्यास गरेको बताएका हुन् ।
‘स्वतन्त्र भन्नेखालको बनिदिउँ न त भन्ने खालको मनोविज्ञान पनि मानिसहरुमा आए । मनोविज्ञानलाई क्यास गर्नका लागि, त्यसलाई भजाउनका लागि एउटा दलले आफ्नो नामै स्वतन्त्र राखिदियो । यदि मान्छे स्वतन्त्र हुन्छ त त्यो दलको हुँदैन । यदि कोही मान्छेले दल बनाउँछ त त्यो दल हो भने स्वतन्त्र हुँदैन । तर, ठगी कहाँसम्म भयो भन्दा दलको नाम पनि स्वतन्त्र राखेर नागरिकको भावना र असन्तुष्टिलाई क्यास गर्ने प्रयास गरियो,’– उनले भने ।
साथै, आज कुनै दलमा हुनु र नहुनुले स्वतन्त्रताको निर्धारण नगर्ने उनको भनाइ छ । नेपालका नागरिकहरुलाई स्वतन्त्र बनाउन कांग्रेसले योगदान गरेको उनले बताए । पुरानोको दिन गए भनेर गरिएको प्रचार आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । महामन्त्री शर्माले जन्म मिति पुरानो भएकै कारणले कुनै पनि दल पुरानो नहुने बताए । उनले नवीन सोचको कारण नै दल नयाँ हुने बताए ।