काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एक पटक खबर पठाउने गरेको बताएका छन् । आज (बिहीबार) कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचारीको संरक्षण गर्न कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेको भनी प्रचण्डले लगाउँदै आएको आरोपको खण्डण गर्दै उनले भने, ‘प्रचण्डले अहिले भर्खर भनेर जानुभएछ– यो यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो । अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ– लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर ।’
तर, कांग्रेसले देशमा राजनीतिक स्थिरता चाहेकाले ०८४ सम्म एमालेसँगकै गठबन्धनमा रहने उनले बताए । ‘आज केपी ओलीसँग हामीसँगै सरकारमा छौं । हामी इमानदारितापूर्वक यो सरकारलाई लिएर जान चाहन्छौं । किनकी हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौं । हामी परिणाम दिन चाहन्छौं,’– उनले भने ।
साथै, उनले केही राजनीतिक दलहरुले मिसन ०८४ को अभियान चलाइरहेको बताउँदै उनले त्यसको कुनै औचित्य नरहेको दाबी गरे । महामन्त्री थापाले अरुले ०८४ को चिन्ता गरिरहँदा ८१, ८२ र ८३ को जिम्मा लिन कांग्रेस तयार रहेको बताए ।
‘मिसन ०८४ भन्ने कुराको म कुनै पनि अर्थ देख्दिनँ । ०८४ को कुरा छोड्नुस् । ८१, ८२ र ८३ को जिम्मा कसले लिन्छ ? जिम्मा लिन कोही चाहँदैन । नेपाली कांग्रेस त्यसको जिम्मा लिन चाहन्छ । हामी काम गर्न चाहन्छौं, परिणाम दिन चाहन्छौं,’– उनले भने ।
साथै, उनले पार्टीका उम्मेदवार कृष्णमान डङ्गोललाई अत्याधिक बहुमतले कीर्तिपुरको मेयरमा विजयी गराउन पनि अपिल गरे ।