काठमाडौं, १४ मंसिर । राजनीतिक विश्लेषक मुमाराम खनालले भारत भ्रमणको प्रयास असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ जान लागेको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणको कुरा निकालेर भारतले बोलाइदिए हुन्थ्यो भन्ने आशय राखेको भएपनि त्यसो नभएको बताएका हुन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको भित्री आशय भारत भ्रमणको थियो । चीन भ्रमणको कुरा निकाल्नेवित्तिकै भारतले पहिला बोलाउला भन्ने थियो । तर, भारतले त्यतिधेरै ओली सरकारलाई वास्ता गरेको देखिएन । भारतले नै बोलाइदे हुन्थ्यो भन्ने थियो,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले झापाको भ्यूब टावर, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत कमिसन खानको लागि बनाइएको टिप्पणी गरे । नेपालका शासकहरुले ऋण लिएर घिउ खाने काम गरिरहेको उनले बताए ।
विश्लेशक खनालले राज्यले विभिन्न आयोजनामा ऋण लिएर भ्रष्टाचार गरिरहेको दाबी गरे । उनले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन सकिने बताए ।