Logo

मेरो नेतृत्वमा शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू भएपनि अप्राकृतिक र अस्वाभाविक रूपमा बनेको सरकारले पदाधिकारीलाई आक्रमण गर्‍यो: प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारको पालामा शैक्षिक संस्थामा मेरिटका आधारमा पदाधिकारी नियुक्त गर्ने गरेर लागू गरेपनि वर्तमान सरकारले अनेक षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन् ।

निजी तथा आवशिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको शुक्रबारदेखि काठमाडौमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले निजी क्षेत्रको माग पनि सम्बोधन गर्नेगरि आफूले काम गरेको दाबी गरेका हुन् ।

‘मेरो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र गरेन, लागू गरेरै देखायो। त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए’ प्रचण्डले भने ‘तर, बिडम्वना १ अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ । सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो पालामा विद्यालय शिक्षा ऐन पारित गर्न जोड गरेपनि सफल नभएको तर, संसद्को आगामी अधिवेशनबाट यो विधेयक पास गर्ने प्रतिवद्धता जनाए । उनले आफू नेतृत्वको सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन निकै ठूलो मिहेनत गरेको र आफ्नै नेतृत्वको सरकारको पालामा शिक्षा ऐन पारित हुन नसके पनि विधेयकको मस्यौदा अगाडि बढेको बताए ।

‘उक्त मस्यौदामा संविधानको व्यवस्थालाई मध्यनजर गर्दै सबैका भावना समेट्ने प्रयास गरिएको छ । यसबारे यहाँहरूसमेत जानकार नै हुनुहुन्छ। सबैको प्रश्न छ, चासो छ– शिक्षा ऐन कहिले आउछ ? ऐनको मस्यौदा संसदमा पेश भएर शिक्षा, स्वास्थ्य तथा सञ्चार समितिमा छलफलको क्रममा छ’ प्रचण्डले भने।

उनले नेपालको शैक्षिक विकासमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको बताए। ‘निजी विद्यालयहरूले शिक्षाको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षाका नयाँ नमुना प्रस्तुत गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण प्रक्रिया प्रभावकारी बनाउने काम गर्दै आएका छन्,’ प्रचण्डले भने, ‘निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदानसमेत पुगेको छ।’ file photo



प्रतिक्रिया दिनुहोस्