काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले पूर्व प्रधानमन्त्रीहरुले देश बर्वाद बनाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व प्रधानमन्त्रीहरुको काम केही नगर्ने र ठूला कुरामात्रै गर्ने बानीले देश वबार्द भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भलाई लिएर चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का बारेमा पूर्व प्रधानमन्त्रीहरु धेरै नै बोलिरहेको बताउँदै उनले यसरी बहस हुनु आवश्यक नरहेको बताए ।
प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु शेबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतलाई लक्षित गर्दै उनले यिनीहरुलाई जनताले बाहिर बस्न नसक्ने अवस्था गराउनुपर्ने बताए ।
‘धेरै कुरा गर्नुहुन्छ नि पूर्व प्रधानमन्त्रीहरु । उहाँहरुलाई समातेर लगेर, यो मुलुकको बर्वादी गरेको उहाँहरुले हो । उहाँहरुलाई समाएर बाहिर बस्न नसक्ने अवस्था गराएपछि थाहा हुन्छ,’– उनले भने ।
प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुमा मुलुकलाई ५ वर्षमा कहाँ पुर्याउने भन्ने इच्छाशक्ति आजसम्म नदेखिएको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा रहेकाहरुको बारेमा टिप्पणी गर्दै उनले मुलुक अहिले ८७ जना लिएर जानसक्ने अवस्थामा पुगिनसकेको बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा बनाएको समूह गलत रहेको उनले बताए । File Photo/RN