काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भोलिबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको बताएका छन् ।
सचिव खड्काले टिकट पनि बिक्री भइसकेको र पास पनि सकिएको बताए । उनले टिकट नपाउनेहरुले घरबाटै एनपीएल हेर्न अनुरोध गर्दै पासका लागि फोन नगर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।’
८ टिमको सहभागिता रहने पहिलो संस्करणको एनपीएल भोलिबाट सुरु हुँदैछ । भोलिबाट सुरु हुने एनपीएल पुस ६ गतेसम्म जारी रहनेछ ।
क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ।
लिग खेलका लागि भने ३ सय र पाँच सय तथा प्लेअफ खेलका लागि ५ सय र ७ सय रुपैयाँ टिकट दर तोकेको छ। फाइनल खेलका लागि भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्ने छ।
दर्शकका आकर्षणका लागि क्यानले सिजनल पासमा २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ राखेको छ। भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ।