काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई कहिले पनि खबर नपठाएको बताएका छन् । आज (शनिबार) प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रचण्डले आफूले कांग्रेसलाई कहिले पनि खबर नपठाएको र पठाउँदा पनि नपठाउने बताएका हुन् ।
माओवादीलाई अहिले सत्ता बाहिर रहँदा नै राम्रो भइरहेको उनले बताए । आफूले कांग्रेस–एमालेलाई ०८४ सम्मै सरकार चलाउनुस् भनिरहेको पनि प्रचण्डले बताए । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कीर्तिपुरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री बनिदिनुपर्यो भनेर प्रचण्डले कांग्रेसलाई हप्तामा एक पटक खबर पठाउने गरेको दाबी गरेका थिए ।
कांग्रेस महामन्त्री शर्माको दाबीप्रति सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रचण्डले भने, ‘उहाँले यति तल भरेर हुँदै नभएको कुरा जनताको अगाडि बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल, कति छिटो झर्न सकेको हो ? त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो यति अनैतिक र झुटो कुरा गर्न सक्छने हुनु भएको देख्दा मलाई उहाँप्रति साँच्चै नै दया लागेको छ ।’