Logo

नेपाल ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा पुगिसक्योः कूटनीतिज्ञ उपाध्याय (भिडिओसहित)



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले नेपाल ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा पुगिसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालले अन्धाधुन्द सार्वजनिक ऋणको भार बढाएको बताएका हुन् । उनले लिइएका ऋणहरु राष्ट्रको हितमा समेत उपयोग हुन नसकेको बताए ।

‘हामी ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा पुगिसक्यौं । यो कुरा स्वयं प्रधानमन्त्रीज्यूले पनि भन्दै हुनुहुन्छ । अन्धाधुन्द सार्वजनिक ऋणको भार बढायौं । उपयोग गर्न सकेनौं । मूल कुरा धेरै चुहावट भयो । हामीले जतिपनि ऋण लियौैं, त्यो राष्ट्रको हितमा र प्रतिफल दिने किसिमको ऋण भएको भए त हाम्रो आर्थिक अवस्था निकै सुदृढ हुनुपर्ने हो । त्यो भइरहेको छैन,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा लिने सम्झौता गर्नेबारे आफ्नो धारणा राख्दै उनले भने, ‘अब सरकार र पार्टीहरु अहिले जस्तो पायो त्यस्तै ऋण लिन हुँदैन भन्ने कुरामा गम्भीर देखिएका छन् । त्यो राम्रो कुरा हो । मित्र राष्ट्र चीनसँग पनि हामीले ऋणको नाम नै सुन्न चाहँदैनौं भन्न हुँदैन ।’

उनले ऋण ‘कति सहुलियतपूर्ण हो ? कस्तो हो ? कति अनुदान हो ?’ भन्ने कुरा बीआरआई सम्झौता गर्दा प्रष्ट हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्