Logo

राजा नभई देश र प्रजातन्त्र जोगिँदैनः राजनीतिक विश्लेषक खनाल



काठमाडौं, १५ मंसिर । राजनीतिक विश्लेषक रञ्जन खनालले नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौताका विषयमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नसकिने बताएका हुन् । ‘हामी अहिले ऋण लिन सक्ने अवस्थामा छैनौं । त्यसकारण अहिले बीआरआईको ऋण लिन सक्दैनौं,’– उनले भने ।

साथै, बीआरआईको सन्दर्भमा होमवर्क नै नभई अगाडि बढाइएको उनको भनाइ छ । उनले बीआरआईलाई पारदर्शी रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए । ‘चीन हाम्रो नजिकको मित्र राष्ट्र हो । चीनसँग बीआरआईको सहकार्य बढाइयो । यसमा केही होमवर्क नै भएको छैन । यसमा पारदर्शिता चाहियो । यसको बारेमा जान्ने हामीलाई हक छ । हामी अहिले ऋण लिन सक्ने अवस्थामा छैनौं । यो केपी ओली, शेरबहादुर र अहिलेका अर्थमन्त्रीले नभनुन्, हामीले भन्नैपर्छ– नेपालको अर्थतन्त्र डामाडोल छ । हामीले नयाँ आर्थिक क्रान्ति नगरी देशको मुहार र्फन सक्दैनौं,’– उनले भने ।

साथै, उनले आफू स्वर्गीय राजा महेन्द्रको अनुयायी रहेको बताउँदै राजा नभइ देश र प्रजातन्त्र जोगिने जिकिर गरे । ‘म महेन्द्रका थुप्रै नीतिहरुको अनुयायी पनि हुँ । राजा नहुँदा देशको प्रजातन्त्र जोगिनेवाला छैन । यो देश जोगिनेवाला छैन । आज हाम्रो देशले नेतृत्व खोजेको छ भने राजा महेन्द्रजस्तो नेतृत्व खोजेको छ । हामीले स्वतन्त्र राष्ट्रको सदस्यता कसको पालामा पायौं ? हामीले अन्तर्राष्ट्रिय जगतमा कसको पालामा प्रसिद्धि कमायौं ? राजमार्ग, उद्योग धन्दा र विकास कसको पालामा सुरु भयो ? हामीले भन्नैपर्छ, राजा महेन्द्रको पालामा खुलेको हो । अब देशले राजा महेन्द्रको बाटो अवलम्बन गर्नुपर्छ र हाम्रा मित्र राष्ट्रहरुसँगको सम्बन्धमा रिभ्यू गर्नुपर्छ । हाम्रा नेताहरुले मित्र राष्ट्रहरुसँगको सम्बन्ध बिगारे । अहिले विदेशी हस्तक्षेप बढिरहेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्