काठमाडौं, १५ मंसिर । अधिवक्ता स्वागत नेपालले नेपालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लगायतका कुनै परियोजना लिन आवश्यक नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौताका विषयमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले परियोजना, लगानी गर्ने क्षेत्रलगायतका कुरा निश्चित नभइ ऋण नभएर अनुदान पनि लिन नमिल्ने बताएका हुन् ।
साथै, उनले अन्धाधुन्द ऋण लिनु घातक हुने बताए । बंगलादेशले बीआरआईको ऋण तिर्न नसकेपछि चिनियाँ सेना नै त्यहाँ गएर बसेको उनको भनाइ छ । ‘परियोजना छैन, लगानी कहाँ गर्ने हो भन्ने छैन । अन्दाधुन्दमा लोन लिन मिल्दैन । बंगलादेशले तिर्न नसकेपछि चाइनाको सेना गएर बस्यो । आफैं असुल गर्न थाल्यो । चीन होस् वा भारत हाम्रो सन्दर्भमा हामीले निर्णय लिने हो । अर्कोले के भन्छ भन्ने कुरा महत्वपूर्ण होईन,’– उनले भने ।
उनले नेपालले कुनै पनि देशसँग भीख माग्न जरुरी नरहेको बताए । उनले विदेशीले सांसद खरिद विक्री गरेर सरकार बनाउने र ढाल्ने व्यवस्था रहेसम्म देशले विदेशीलाई खुसी बनाउने नीति लिइरहने बताए । प्रधानमन्त्री, तथा मन्त्रीहरुको विदेश भ्रमण सबै रोक्नुपर्ने बताए । ‘बीआरआई, एमसीसी यी कुनैको पनि अनुदान वा ऋण चाहिँदैन । युवाहरुलाई अनिवार्य स्वयमं सेवामा राखेर देशको विकास गर्न सकिन्छ,’– उनले भने ।