काठमाडौं, १६ मंसिर । चीनका लागि पूर्व नेपाली राजदूत एवं कूटनीतिज्ञ राजेश्वर आचार्यले व्यक्तिको परिवर्तनले सरकारको नीतिमा परिवर्तन हुँदा परराष्ट्र नीतिमा समस्या देखिएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले नेतृत्व वर्ग र राजनीतिकर्मीहरुले कूटनीतिजस्तो संवेदनशील विषयलाई राजनीतिकरण गर्न खोज्दा समस्या आएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा बोल्दै उनले दुई देशबीचमा देखिएको सीमा समस्या समाधानमा पहल गर्नुपर्ने बताए । कुटनीतिज्ञ आचार्यले राजा महेन्द्रको पालामा आफू राजदूत भएर चीन जाँदा दुई देशबीच कुनै पनि सीमा समस्या नरहेको उनले बताए । तर, ५÷७ वर्षको अन्तारालमा नेपाल–चीनबीच समस्या रहेको कुरा आइरहेको उनले बताए । दुई देशबीचको ज्वाइन्ट बोर्डर मेकानिजमबाट यो समस्या सुल्झाउनुपर्ने उनले सुझाव दिए । दुई देशबीचको सम्बन्धमा देखिएको दरारलाई धेरै लामो समय काँचो राख्न नहुने उनले बताए ।
‘व्यक्तिको परिवर्तनले सरकारको नीतिमा परिवर्तन हुन भएन । त्यसले कन्फ्यूजन लिएर आउँछ । यदि समस्या छ भने दुई देशबीचको ज्वाइन्ट बोर्डर मेकानिजमहरु छन् हाम्रो । परराष्ट्र मन्त्रालयमा विभिन्न संयन्त्र छन् । यस्ता विवाद सुल्झाउनुपर्यो, काँचो राख्न भएन । चीनसँग हाम्रो कुनै सीमा समस्या थिएन । अहिले ५÷७ वर्षमा त्यो समस्या देखिएको छ,’– पूर्व राजदूत आचार्यले भने ।
साथै, उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच विमती हुनु दुर्भाग्यपूर्ण रहेको बताए । दलहरुले सत्ता र पदभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । ‘विमती हुनु दुर्भाग्यपूर्ण हो । सत्ताभन्दा, पदभन्दा ठूलो देश हो । देश र जनताको हितको निम्ति काम गर्ने हो । सरकार संविधानको रक्षक हो । विदेशमा जाँदाखेरी देशको हितको एजेण्डा लिएर अगाडि बढ्नुपर्यो । आफ्नो कुर्सी जोगिन्छ कि जोगिँदैन भन्ने दृष्टिकोण राखियो भने त्यो भन्दा दयनीय र घातक के हुनसक्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले बीआरआईमा पक्ष र विपक्ष भएर छलफल गर्नुको औचित्य नै नरहेको बताए । पूर्वराजदूत आचार्यले चीनले नेपाल र नेपाली जनताप्रति धेरै उच्च सम्मान दिइरहेको बताए ।