काठमाडौं, १६ मंसिर । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले हावादारी कुरा गरेर जनता ठगेको टिप्पणी गरेका छन् । कांग्रेसले आयोजना गरेको कीर्तिपुरको चुनावी सभामा गगनले कांग्रेसले जितेको खण्डमा कीर्तिपुरलाई युवाहरुले महिनाको ४/५ लाख कमाउन सक्ने बनाउन बताएका थिए ।
महामन्त्री थापाको उक्त अभिव्यक्तिको खण्डण गर्दै उनले अहिले देशमा युवाहरुले २० हजारको रोजगारी पनि पाउन नसक्ने अवस्था रहेको बताए ।
‘एउटा पार्टीका महामन्त्रीले हावादारी कुरा गर्यो । डाँडामा ल्याप्टप लिएर बसेर महिनाको ४ लाख कमाउँछ रे । यति गफ लगाउने ?’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘जुन देशमा मान्छेको २० हजारको रोजगारी छैन । बीए पास गरेको मान्छे २५/३० हजारमा काम गरिरहेको छ । त्यो गफ दिएर जनतालाई ठग्ने ?’