काठमाडौं, १६ मंसिर । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमै सम्झौता हुने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पब्लिकमा गर्दिनँ भनेको कुरा नै गर्ने गरेको बताए । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई ऋणमै सम्झौता हुने दाबी गरे ।
‘मलाई लाग्छ उहाँले बीआरआई सम्झौता गर्नुहुन्छ । बीआरआईमा अनुदान दिँदैन प्रायजसो । अहिले के गर्छ त्यो चाइनामा निर्भर छ । तर, मैले आजसम्म चिनेको प्रधानमन्त्री केपी शर्मा ओली जे पब्लिकमा गर्दिनँ भन्नुहुन्छ, त्यही काम गर्नुहुन्छ,’– डा.सिंहले भने ।
साथै, नेता सिंहले बीआरआई ऋणमा लिइएको खण्डमा नेपालको लागि ठूलो दुर्भाग्य हुने बताए । नेपालका नेताहरुले तलबभत्ता र गाडी चढ्नका लागि ऋण लिइरहेको उनले टिप्पणी गरे । ‘बीआरआई ऋणमा लिइन्छ भने नेपालको लागि त्यो भन्दा ठूलो दुर्भाग्यपूर्ण केही हुँदैन । ऋण त पोखरा एयरपोर्टको लागि लिइएको छ । त्यसको उपलब्धी के ? नेपालले तलबभत्ता र गाडी चढ्नका लागि ऋण लिइरहेको छ,’– उनले भने । File Photo/RN