काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म करिब ५८ प्रतिशत मत खसेको छ । यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको आयोगले जनाएको छ । आयोगले ६० प्रतिशत भन्दा धेरै मतदान हुने अनुमान गरेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म उपनिर्वाचन भइरहेका देशैभरका स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ । ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जानकारी गरेको छ । काठमाडौं बाहेकका केही स्थानमा आजै साँझबाट मतगणना गर्ने आयोगको तयारी छ ।