काठमाडौं, १६ मंसिर । कोशी प्रदेशका निवर्तमान मन्त्री एवं नेकपा (एमाले) नेता लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको मुद्दामा उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा दायर भएको रिट निवेदन दरपीठ भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करी मुद्दामा मुछिएका ११ जनाविरुद्ध अभियोग पत्र दायर गर्दै पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको थियो ।
सत्ताको छायाँमा परेर पूर्वमन्त्री अधिकारीलाई मुद्दा अभियोजन गर्ने निकायले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च गएका थिए । उक्त रिट निवेदनमा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दर्ता अस्वीकार गरेका हुन् ।
जापानमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदा तत्कालीन मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई लिएर गएको आरोप छ । उनीसँग एका तीन जना र तत्कालीन मन्त्री अधिकारीलाई समेत जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।
अधिकारीसँगै जापानबाट फर्किएका ३ जनालाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो । अधिकारीको चर्को विरोधमा भएपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो ।