Logo

बयान नसकिएपछि रविलाई हिरासत फर्काइयो, पोखरा भोलिमात्र पठाईने



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आज पनि नसकिएपछि हिरासतमा नै फर्काईएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहानदेखि बयान लिईएको भएपनि नसकिएको हो । आज बयान नसकिएको हुँदा सोमबार बयान सकिएपछि पोखरा फर्काउने प्रहरीको तयारी छ ।

यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिईएको थियो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ ।

लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ । प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ ।

कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्