काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो।
निर्वाचन आयोगले तोकेको समय सीमा सकिएको र देशभरका उपनिर्वाचन भएका स्थानमा मतपेटीका संकलन लगायतको काम भइरहेको जानकारी गराएको छ । आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकासहितका केही स्थानमा आजै साँझबाट मतगणना सुरु हुनेछ । अन्य केही स्थानमा भने भोलि बिहानमात्र मत गणना हुनेछ ।
आयोगका अनुसार समग्रमा ६२ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारी अनुसार सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ ।