Logo

साझेदारी शिखर सम्मेलनमा भाग लिन उद्योगमन्त्री भण्डारी भारत प्रस्थान



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँ दिल्लीमा हुने दुईदिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार आयोजना हुने औपचारिक कार्यक्रमका निम्ति उनी भारत प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणामा मन्त्री भण्डारी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

उक्त शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भुटान, इजरायल, इटाली, दक्षिण अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरूको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीयसचिव आनन्द भट्टले जानकारी दिए । सम्मेलन नयाँ दिल्लीस्थित सुस्मा स्वराज भवनमा सम्पन्न हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्