काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी १९ वर्षमुनि (यू–१९)को एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।
योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
नेपालले जितका निम्ति दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका निम्ति ओपनर जबार अबररले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ६५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाएका हुन् ।
यस्तै, कप्तान मोहम्मद हाकिमले ७२ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ५२ रन जोडे । मोहम्मद फरिदले १३ रन बनाए । नेपालका निम्ति युवराज खत्रीले चार विकेट लिए । हेमन्त धामीले एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनाएको थियो । नेपालका ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन जोडे । त्यसबाहेक अरू नेपाली खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका निम्ति अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले समान दुई/दुई विकेट लिए । साद इस्लाम, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिमले समान एक/एक विकेट लिए ।
बंगलादेशको यो लगातार दोस्रो जित हो । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल यही मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।