Logo

जंगबहादुरले फर्काए महाबुमा एमालेको विरासत, स्वामीकार्तिक खापरको उपाध्यक्ष पनि एमालेकै पोल्टामा



काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत ल्याएका छन्।

नेकपा माओवादीका उम्मेदवार जंगबहादुर बरालले ८४२ मत ल्याएका छन्। रास्वपाका उम्मेदवार प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ४७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगतबहादुर हमालले ४ मत पाएका छन्।

यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका काँग्रेसले जितेको थियो। त्यसबेला काँग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए। अहिले निर्वाचित जंगबहादुर शाही २०७९ मा समाजवादीबाट उम्मेदवार थिए। त्यसबेला उनले २ हजार २६८ मत ल्याएका थिए।

२०७९ मा दैलेखको महाबुको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको नेपाली कांग्रेसलाई शाही एमालेमा फर्किएपछि विरासत जोगाउन मुस्किल थियो ।एमाले विभाजन हुनुपूर्व महाबु एमालेको पकड क्षेत्र थियो । २०७४ मा एमालेबाट उम्मेदवार बनेका शाही अध्यक्ष पदमा विजयी भएका थिए । त्यतिबेला अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

अहिले उनै शाही एमालेमा फर्किएपछि महाबुमा पुनः एमालेको विरासत फर्किएको छ । समाजवादी दैलेखका प्रभावशाली नेता एवं संघीय सांसद अमरबहादुर थापा पछिल्लो समय पार्टीबाट रुष्ट हुनु र शाही पुनः एमालेमै फर्कनुले महाबुमा एमालेको पुनरागमन हुने विश्लेषण थियो ।

यता बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकी छन्।

उनले १ हजार ७ सय ४० मत ल्याइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत ल्याइन्। एकीकृत समाजवादीकी जपा शाहीले ५ सय ५३ मत ल्याइन्।

त्यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले एमालेलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका थिए। केन्द्रको नीति, निर्णयविपरीत भएको भन्दै माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गर्ने बताएको थियो।

२०७९ सालको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन्। उनले १ हजार ८१० मत प्राप्त गरेकी थिइन्। उनका प्रतिस्पर्धी बनेकै अहिले निर्वाचित सुलोचनाकुमारी भण्डारीले १ हजार ६३७ मत ल्याएकी थिइन्। माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले १ हजार २ सय १३ मत प्राप्त गर्दै तेस्रो भएका थिए।



प्रतिक्रिया दिनुहोस्