काठमाडौं । नेपाली कांग्रेसको विरासत भत्काउँदै मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।
निर्वाचनको मुखमा काङ्ग्रेसबाट असन्तुष्ट हुँदै माओवादीमा प्रवेश गरेका माझीले ६९७९ मत ल्याएका छन् । काँग्रेसका बलराम सरदारले ५३३३ पाएका छन् ।
२०७४ को निर्वाचनमा पालिका अध्यक्ष जितेको एमाले भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेबाट उम्मेदवार बनेका तुलसीराम विश्वासले ४१५९ मत पाए ।
यता कांग्रेसले नै जितेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा पनि नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।